info@metooonline.com

१५ दिने व्यवस्थामा सेबोन लचक हुँदा लगानीकर्तामा उत्साह

काठमाण्डौ । लगातार घटेको सेयरबजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ११.९६ अंकले बढेर २५७८.७३ विन्दुमा कायम भएको छ ।  

नेप्सेमा सूचीकृत ३५९ कम्पनीको ८९ लाख ५५ हजार २३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।  

आज माइक्रो फाइनान्स र निर्जीवन बीमासमूह बाहेक सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा व्यापार समूह रहेको छ । यो समूह आज ०.८२ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूह, ०.५५ प्रतिशत, फाइनान्स समूह ०.१५ प्रतिशत, होटल तथा पर्यटन समूह ०.५३ प्रतिशत, हाइड्रो समूह ०..६२ प्रतिशत, लगानी समूह ०.४३ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा पर्यटन समूह ०.२७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.२० प्रतिशत र अन्य समूह ०.३९ प्रतिशतले बढेको छ ।  

घट्ने समूहहरुमा निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले घटेको छ भने माइक्रोफाइनान्स समूह ०.१७ अंकले घटेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता खोमनाथ प्याकुरेलले धितोपत्र बोर्डको १५ दिने पूर्वसूचना सम्बन्धी व्यवस्थामा बोर्ड सकारात्मक देखिएपछि बजारमा सामान्य सुधार देखिएको बताएका छन् ।

उनका अनुसार पछिल्लो समय पूँजीबजारसँग सम्बन्धित सकारात्मक समाचारहरू आइरहेका छन् र नीतिगत वातावरण पनि क्रमशः अनुकूल बन्दै गएको छ ।

‘धितोपत्र बोर्डको १५ दिने व्यवस्थाबारे बोर्ड सकारात्मक देखिएको छ । त्यसको प्रभाव आजको बजारमा पनि देखियो,’ प्याकुरेलले भने, ‘अर्को सातादेखि बजारले सामान्य सुधार लिन सक्ने अवस्था छ ।’

उनले चाडपर्वका कारण कारोबार र लगानीकर्ताको सक्रियतामा केही सामान्य प्रभाव पर्न सक्ने भए पनि बजार बढ्नका लागि आधारभूत तथा नीतिगत पक्षहरू सकारात्मक रहेको बताए ।

‘चाडपर्वको प्रभावले बजारलाई सामान्य असर गर्न सक्छ, नत्र बजार बढ्नका लागि सबै पक्ष सकारात्मक छन्,’ उनले भने, ‘चाडपर्व सकिएलगत्तै बजारले एउटा स्पष्ट मुभमेन्ट लिन सक्छ।’

प्रतिक्रिया